३० चैत मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निशुल्क रुपमा दिने भएको छ ।गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येकमहिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो ।नुन किन्न सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति अवलम्बन गरेको छ । विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो । परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुने भएको छ ।नागरिकताको आधारमा पाँच पोका नुन लिन विपन्न समुदायहरु गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या सधैंका लागि समाधान हुने छ ।