कारबाहीमा परेकालाई इन्स्पेक्टरबाट डीएसपीमा बढुवा

66Shares
कारबाहीमा परेकालाई इन्स्पेक्टरबाट डीएसपीमा बढुवा

२३ चैत काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक इन्स्पेक्टरमै कारबाही भोगेका पाँच जनालाई डीएसपीमा बढुवा गरेको छ ।बुधबार प्रहरीको १९ रिक्त डीएसपीका लागि १९ जना इन्स्पेक्टरलाई बढुवा सिफारिस गरिएको थियो । त्यसमध्ये पाँचजना कारबाही भोगेका इन्स्पेक्टर हुन् ।अझ रोचक त के छ भने व्यावसायिक अधिकृतलाई छुटाएर इन्स्पेक्टरमा कारबाही भोगेकाहरू एक नम्बर र दुई नम्बरमा बढुवा भएका छन् ।बढुवाको एक नम्बरमा रहेका निर्मल पनेरू कारबाही भोगेका निरीक्षक हुन् । उनी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओसमेत बसेका थिए ।त्यस्तै, क्रिषिराम घर्तीमगरसमेत कारबाही भोगेका निरीक्षक हुन् । उनी बढुवाको दोस्रो नम्बरमा छन् ।प्रहरी निरीक्षक हुँदा पनेरू ४७ नम्बर र घर्ती १० नम्बरमा थिए ।त्यस्तै, कारबाही भोगेकाहरूमा लक्ष्मण ओली र भीषणबाबु राई छन् । त्यस्तै, प्रहरी निरीक्षकको १४१औँ स्थानका कमल कुमार खड्कासमेत बढुवा हुन सफल भएका छन् ।उनीहरू सबै २०७० चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । ०७० सालको भर्नामा कुल १४४ जना निरीक्षक भर्ना भएका थिए । त्यसमध्ये ४६ जना गएको जेठमा बढुवा भएका थिए । बाँकी ९८ जनामध्येबाट १९ जनालाई बढुवा गरिएको हो ।त्यो बेला बढुवा गर्दा प्रहरी महानिरीक्षक आईजीपीले कारबाही परेका निरीक्षकको बढुवा नगर्ने मापदण्ड निर्धारण गरेका थिए ।