११ चैत काठमान्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी मा कार्यरत ४ प्रहरी निरीक्षक इन्स्पेक्टरको सरुवा गरिएको छ ।प्रहरी निरीक्षकहरु सुरेश खत्री, रञ्जित लामा, वकिल सिंह र कृष्ण श्रेष्ठको सरुवा गरिएको हो । खत्री र लामालाई प्रहरी प्रधान कार्यालय, सिंहलाई सशस्त्र प्रहरी गण नम्बर १ र श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।सीआईबीमा भने प्रहरी निरीक्षकहरु राजु अधिकारी र गजेन्द्र रावललाई लगिएको पनि जनाइएको छ ।सुन तस्करी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी अधिकारीहरू धमाधम सरुवामा पर्न थालेका छन् । पछिल्लो पटक सीआईबीमा कार्यरत ४ प्रहरी निरीक्षक इन्स्पेक्टरको सरुवा भएको छ ।सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा बुझाएको प्रतिवेदनमा सीआईबीका एआईजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरेपछि सबैलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।अनुसन्धानमा खटिएकालाई अन्यत्र सरुवा गर्नुपर्ने भन्ने सिफारिसका आधारमा इन्सपेक्टरहरूको पनि सरुवा गरिएको सीआईबीले जनाएको छ ।