१० चैत दिल्ली । आम आदमी पार्टी आपका अध्यक्षसमेत रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कम्तीमा मार्च २८ सम्म हिरासतमा राखिने भएको छ । उनलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।उनलाई मदिरा घोटाला प्रकरणमा बिहीबार राति पक्राउ गरिएको थियो ।अदालतको निर्णयपछि मुख्यमन्त्री केजरीवालले सरकार सञ्चालबारे प्रतिक्रिया दिएका छन् ।उनले आफूले जेलबाटै सरकार चलाउने बताएको भारतीय मिडिया आजतकले जनाएको छ । उनले आफूले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा नदिने र जेलबाटै सरकार चलाउने बताएका हुन् ।आजतकुसँग कुरा गर्दै मुख्यमन्त्री केजरीवालले भनेका छन्, म मुख्यमन्त्री पदबाट राजीनामा दिनेछैन । आवश्यक परे जेलबाटै सरकार चलाउँछु । हामीलाई थाहा छ, समस्या आउनेछ । तर, हामी काम गर्ने प्रयास गर्नेछौँ । भित्र होस् वा बाहिर सरकार त्यहीँबाट चल्छ ।उनले आफू नडराएको पनि बताएका छन् । उनले आफू ईडी जे चाहन्छ, त्यसका लागि तयार रहेको पनि बताएका छन् ।