९ चैत काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर म्यानचेस्टर सिटी र रियाल मड्रिडका पूर्वफरवार्ड रोबिन्होलाई अदालतले ब्राजिलमा नौ वर्ष जेलमा बस्नुपर्ने सजाय सुनाएको छ ।सन् २०१७ मा इटालीको अदालतले ४० वर्षीय रोबिन्हो २०१३ मा अल्बालियाकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको हिस्सा भएको जनाउँदै दोषी ठहर गरेको थियो । इटालीको आग्रहपछि ब्रासिल्लियास्थित अदातलले रोबिन्होलाई नौ वर्ष आफ्नै देशमा कैद भुक्तान गर्नुपर्ने निर्देशन दिएको हो । यसविरुद्ध अपिल गर्न सकिने भएकाले रोबिन्हो अहिले नै जेल भने जाने छैनन् ।१०० क्याप जितेका ब्राजिलका पूर्वफरवार्ड रोबिन्हो उक्त घटना हुँदा इटालियन क्लब एसी मिलानमा आबद्ध थिए । रोबिन्होले आरोपबारे पुनरावेदन गरे पनि इटालीको सर्वोच्च अदालतले २०२२ मा उनलाई सजाय सुनाएको थियो । सर्वोच्चको आदेशपछि इटालियन प्रशासनले रोबिन्होविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।