२३ फागुन बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गरेका हुन् ।
माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यलयले पुष्टि गरेको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले दुई जना मन्त्रीलाई बर्खास्त गरिएको बताए । केन्द्रमा समीकरण भत्किएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो । यसै विच नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।बुधबार बिहान बसेको सो पार्टीको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए । यसै गरी नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले बताए ।‘आजकै निर्णय अनुसार सुरेन्द्रराज पाण्डेलाई दिइएको समर्थन फिर्ता लिइएको छ,’ उनले भने । यसअघि नै मुख्यमन्त्री पाण्डेले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकासमन्त्री रेशम जुग्जालीलाई बर्खास्त गरेका हुन् ।