१५ फागुन चितवन । पुर्व युवराज पारस शाह फेरी यतिखेर विवादमा तानिएका छन । त्यसो त पारस बेला बेलामा विवादमा आउने गरेका छन । यस पटक भने एक जना वस ड्राइभरलाई पेस्तोल ताकेको भन्ने आरोप लागेको छ तर यसको पुष्टि भने भएको छैन । पूर्वराजा ज्ञानेन्द्र शाहले गत साता ११ दिन परिवारसहित चितवनमा ‘भ्याकेसन’ मनाए । चितवन राष्ट्रिय निकुञ्ज घुमघामदेखि देवघाट दर्शनसम् गर्न भ्याएका पूर्वराजपरिवारको १८ जनाको जम्बो टोली गत शुक्रबार काठमाडौँ फर्किसकेको छ ।
पूर्वराजाको चितवन बसाई नितान्त पारिवारिक थियो । पूर्वरानी कोमल राज्यलक्ष्मी राणाको जन्मदिवस समेत यतै मनाएर पूर्वराजपरिवार काठमाडौं फर्किएको हो । तर, चितवनमा भने पूर्वराजपरिवारका एक सदस्यको नाम जोडेर बेग्लै विवादको प्रवाह भइरहेको छ ।विवादमा पर्ने अरु कोही नभएर पूर्वयुवराज पारस हुन् । पूर्वराजपरिवारको भ्रमण दलमा पारससमेत सहभागी रहेको बताइएको छ । यद्यपि, आमाको जन्मोत्सवका तस्बिरमा उनी देखिएका छैनन् । बरु पारसले चितवनको एउटा विद्यालयको स्कूल बसलाई पेस्तोल ताकेको आरोप विद्यार्थीका अभिभावकले लगाएका छन् ।चितवनको भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बस गत बुधबार सधैँजस्तो आफ्ना विद्यार्थी बोकेर घरघर पुर्याउन गइरहेको थियो । सोही नगरपालिकाको वडा नम्बर ८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी झारेर बस मोडिन आँट्दा पछाडि कालो रंगमा आइरहेको गाडी रोकियो । गाडीले प्याँप्याँ हर्न बजायो । गाडी घुमाउन अलिबेर लागेपछि एक व्यक्ति कारबाट झोक्किँदै बाहिर निस्किए । उनले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ । उनी पारस शाह नै भएको ठोकुवा समेत गरिएको छ । प्रहरीले यस बारेमा कुनै जानकारी नभएको बताएको छ । उक्त पेस्तोल ताक्ने व्यक्ति पारस नै हुन भन्ने हाल सम्म पुष्टि नभएको प्रहरीको भनाई छ ।