१५ फागुन बाँके । भारती मानन्धरले विष सेवन गरेको प्रहरीले दावी गरेको छ । बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेको बताइएको छ । मंगलबार दिउसो १ बजेको आसपास भारतीले विष सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ ।अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । उनले आफ्नो छोरालाई भेट्न नपाएको भन्दै विष सेवन गरेको उनी निकटले सुनाएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।राष्ट्रपतिबाट आममाफी पाएका रिगललाई लामो समय आन्दोलन गरेर पुनः जेल पठाउन सकेकी भारती पारिवारिक रुपमा समस्यामा पर्दै आएको जनाउँदै आएकी थिइन् । उनले छोरालाई आफैले राख्नुपर्ने चाहना गर्दै आएको भएपनि चेतनका बुबाआमाले भने नातीलाई आफैले राखेका छन् ।प्रहरीका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको र परिवारका सदस्य पनि साथमा भएकाले घटनाको कारण प्रहरीले खोजी रहेको बताइएको छ।
तस्बिर कमल सरगम