१० फागुन सुर्खेत । स्वास्थ्य सेवा कार्यालय सुर्खेतले ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ । कार्यालयले नौ महिनादेखि पाँच वर्ष र ६–१५ वर्ष बालबालिकालाई खोप लगाउने भएको हो ।खोप सेवा प्रदान गर्न कार्यालयले दुई सय २२ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । उनका अनुसार एक सय २५ बालबालिका बराबर एक स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ ।पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए। खोप कार्यक्रम निःशुल्क र जीवन सुरक्षाका लागि भएकाले कसैलाई नछुटाउन उनले आग्रह गरे।