१० फागुन दाङ । दाङको घोराहीमा सवारी दुर्घटनामा मृत्यु भएका रोल्पाका दुई युवाका परिवालाई क्षतिपूर्तिबापत जनही १६ लाख रुपैयाँ दिने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, गाउँपालिकाका पदाधिकारी र प्रहरी प्रशासनका बीचमा बिहीबार त्यस्तो सहमति भएको हो।जनही १५ लाख क्षतिपूर्ति बापत र थप एक एक लाख किरिया खर्चबापत उपलब्ध गराउने सहमति भएको मृतकका आफन्तले सेतोपाटीलाई बताए। त्रिवेणी गाउँपालिका कार्यालयले पीडित पक्षलाई रकम उपलब्ध गराउने सहमति भएको हो। बुधबार बिहान ६ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको विवेक पुनले चलाएको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराहीको सर्रा चोक नजिकै सडकमा पल्टिएको थियो। मोटरसाइकल पल्टिएर सडकमा लडेका दुई जनालाई घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको त्रिवेणी गाउँपालिकाको बा २ झ ३६५२ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो।