प्रकाश ज्वालाको बचाउ गरे पूर्णबहादुरले

54Shares
प्रकाश ज्वालाको बचाउ गरे पूर्णबहादुरले

७ फागुन काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सडकदेखि संसदसम्म आवाज उठिरहेको छ । तर, उनले किन राजीनामा दिनुपर्ने भन्ने कुरा उल्लेख गरिएको प्रतिवेदन भने अहिलेसम्म ‘गोप्य’ नै छ ।रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका दुई युवकको ज्यान जाने गरी पुस १३ मा भएको बालकुमारी घटनालाई लिएर मन्त्री ज्वालाको राजीनामा मागिएको हो ।घटनापछि गठित छानबिन समितिको प्रतिवेदन आइतबारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पेश गरे । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहितका केही मन्त्रीले उक्त प्रतिवेदन पढ्न पाउनुपर्ने वा त्यसमा उल्लेखित विषयको जानकारी पाउनुपर्ने माग गरे । तर, न प्रधानमन्त्रीले प्रतिवेदनमा उल्लेखित विषय सुनाए, न त गृहमन्त्रीले नै मन्त्रीहरूलाई प्रतिवेदन अध्ययन गर्ने मौका दिए ।
यसपछि रक्षामन्त्री खड्काले झोँक्किदै भने, ‘क्याबिनेट मन्त्रीले पढ्न नपाउने कस्तो प्रतिवेदन लेख्नु भयो त ’ उनले उक्त घटनामा बाटो हिँड्ने बटुवा मन्त्री ज्वालालाई नभई गोली चलाउन र मान्छे मार्न आदेश दिने व्यक्तिको पहिचान गरी कारवाही गर्न माग गरे ।बालकुमारी घटनामा प्रहरीले चलाएको गोली लागेर दुई युवकको ज्यान गएको र उक्त घटना हुनुका पछाडि गृह प्रशासनबाहेक अरुको दोष नदेखिएको स्थितिमा घटनास्थलको बाटो हुँदै अगाडि बढ्न खोजेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई मुख्य दोषी देखाउने कुरा आफैंमा अस्वाभाविक हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।