१७ माघ बाजुरा । बाजुरा जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् ।
स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको बताए ।एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो । अत्याधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन् ।स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले विद्यालय बन्द गरेको जानकारी दिए । भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने उनले बताए।