२९ पौष २०८० काठमाडौं । नेपाली कांग्रेस म्याग्दी काठमाण्डौ सम्पर्क समितिले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६७ पाेइन्ट रगत सङ्कलन भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यानको जोखिमलाई मध्यनजर गरी सम्पर्क समितिले गोंगबुमा आयोजना गरेको रक्तदान कार्यक्रममा म्याग्दीबाट काठमाण्डौमा बासोबास गर्नेहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।रक्तदान कार्यक्रममा रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी जिल्ला रक्तदानका लागि नमुना जिल्ला भएको बताए । उनले म्याग्दी जिल्लामा रगत अभावकै कारण कसैको ज्यान जाने अवस्था नरहेको बताउँदै विभिन्न जिल्लामा बसोबास गर्ने म्याग्देलीले समेत त्यहाँ रगतदानका लागि सचेतनामूलक कार्यक्रम गरी रक्तदातालाई प्रोत्साहन गर्नुपर्ने बताए ।कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष चित्रबहादुर केसीले काठमाण्डौमा निजी तथा सरकारी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगतको सहजताका लागि रक्तदान कार्यक्रम गरिएको बताए । उनले आगामी दिनमा पनि रक्तदान सहित अन्य कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर थापाले गरेका थिए । काठमाण्डौ उपत्यकामा रक्तदान कार्यक्रम भएपनि अस्पतालमा रगतको खोजीमा बिरामीका आफन्त भौतारिनुपर्ने बाध्यता छ ।