२९ पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले केहि बेरमा बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने वताइएको छ ।गठबन्धन दलका अर्का एक शीर्ष नेताको सचिवालयका एक सदस्यले भने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषयमा छलफल गर्न र टीआरसी सम्बन्धी विषयमा छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले बैठकमा बोलाएको बताए ।कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी सम्बन्धी विधेयकमा दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउने विषयमा छलफल भएको थियो । सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा विधेयक पेस हुने र पारित गर्ने बताएका छन् ।परराष्ट्रमन्त्री एनपी साउदले पनि शनिबार बैतडीको दोगडाकेदारमा आयोजित एक कार्यक्रममा संसदको आगामी अधिवेशनमा शान्ति प्रक्रियालाई टुंग्याउन विधेयक पारित गर्ने बताएका थिए ।प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।