२४ पुस कपिलवस्तु । गत शुक्रबार राति ११ बजे कपिलवस्तु जिल्ला अस्पतालमा अनौठो खालको दृश्य देखियो । गम्भीर तथा तत्काल उपचार गर्ने इमर्जेन्सी वार्डको एउटा बेडमा कुकुर सुतेको देखियो ।उपचार सेवा लिन आउने बिरामी तथा कुरुवाहरू अचम्ममा परे । पशुको सेवा पनि दिन थाल्यो कि जिल्ला अस्पतालले भन्दै केही बोलेनन् । इमर्जेन्सी कक्षमा रातिको ड्युटीमा थिए, डाक्टर खरेन्द्र चौधरी । त्यहाँ रहेका कुरुवा तथा बिरामीले इमर्जेन्सी बेडमै कुकुर सुतेको जानकारी गराए पनि उनीहरूले हाँस्दै बेवास्ता गरेका थिए । त्यतिबेला इमर्जेन्सी वार्डमा अहेब सट्ट चौधरी र शैलेन्द्र खरबिन्द तैनाथ थिए ।जिल्लाकै ठूलो तौलिहवा अस्पतालको इमर्जेन्सी वार्ड आफैमा संवेदनशील उपचार कक्ष हो । विभिन्न किसिमका बिरामी तथा घाइते आइरहने त्यहाँका बेडमा भुस्याहा र संक्रमित कुकुर विस्तरामै बस्दासमेत कर्मचारी तथा इञ्चार्जले बेवास्ता गर्नुलाई स्वास्थ्य क्षेत्रमा ठूलो र गम्भीर लापरवाही मानिन्छ । कर्मचारी तथा चिकित्सकले केही नबोलेपछि बिरामी कुरुवा आफैँले त्यहाँबाट कुकुरलाई खेदेका थिए ।विगत वर्षहरूमा नाम कमाएको तौलिहवा अस्पतालको सेवा ६ महिनायता खस्कँदै गएको छ । स्वास्थ्यकर्मी र कर्मचारी प्रशासनबीचको आन्तरिक गुटबन्दीले समस्या सिर्जना भएको बताइन्छ । जसपाको कोटाबाट अस्पताल विकास समितिमा दोस्रो कार्यकाल शुरु गरेका शिवलाल यादवलाई समेत स्वास्थ्यकर्मी र कर्मचारीले फनफनी नचाउने गरेका छन् ।