१ पुस पाल्पा । नेपाली कांग्रेस पाल्पाको जिल्ला सम्मेलनका क्रममा शनिबार पाल्पामा तानसेन नगरपालिकाको भवनको चरम दुरुपयोग भएको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा पुगेका महामन्त्री गगन थापालाई भाषण गर्नको लागि नगरपालिकाको अनुमति नलिइ नगरपालिकाको बार्दली उपलब्ध गराइएको थियो ।
शनिबार तानसेनमा जिल्ला सम्मेलनका लागि नेपाली कांग्रेस पाल्पाले नगरपालिकाको अण्डरग्राउण्ड तलामा रहेको सभाहल भाडामा लिएको थियो । तर, कार्यक्रम समापनका क्रममा महामन्त्री गगन थापाले सम्बोधन गर्ने बेलामा थापालाई एक तलामाथि बार्दलीमा चढाइयो । थापाले बार्दलीमा उभिएर भाषण गरे । भाषण सुन्न आएका दर्शकहरु टुँडिखेलभरी छरिएर बसे ।थापाको भाषणको क्रममा तानसेन नगरपालिकाको साइनबोर्डलाई समेत कपडाले छोपिएको थियो । राष्ट्रिय झण्डा समेत निर्धारित स्थानभन्दा तल सारेर सजिलै नदेखिने बनाइएको थियो । यो कार्यक्रम भएपछि पार्टीले सरकारी भवनको दुरुपयोग गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।कार्यक्रमका लागि पार्टीले अण्डरग्राउण्ड हल भाडामा लिएको भए पनि यसरी माथि बार्दलीमा नै मञ्च खडा गरेर गलत गरेको भन्दै आलोचना भइरहेको छ । कांग्रेस पाल्पाले बार्दलीमा मञ्च बनाउनका लागि नगरपालिकासँग अनुमतिका लागि सोध्दै नसोधेको पाइएपछि विरोध चर्को भएको छ ।नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठका अनुसार हिजो उनी पाल्पामै थिएनन् । उनी अन्तर पालिका संजालको कार्यक्रममा सहभागी हुनको लागि झापाको दमक गएका थिए । आफू नभएको बेलामा आफूलाई जानकारी समेत नदिइ यस्तो कार्यक्रम गरिएकोमा यसको जिम्मेवारी नेपाली कांग्रेस पाल्पाले लिनुपर्ने उनले बताए ।मेयर श्रेष्ठ आफैं कांग्रेसबाट निर्वाचित भएका हुन् । आफूले यसबारे जानकारी पाउनासाथ कांग्रेस पाल्पाका सभापतिलाई सम्पर्क गरेर यसबारे जवाफ मागेको मेयर श्रेष्ठले बताए । नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ भने महामन्त्रीलाई बार्दलीबाट भाषण गराउने आफूहरुको नियत नभएको तर परिस्थिति त्यस्तै आइपरेको दाबी गर्छन् । ‘हामीले हलमा कार्यक्रम गर्ने भनेर हल भाडामा लिएका थियौं तर जनताहरु यति धेरै आइदिनुभयो कि हामीले धान्नै सकेनौं’ उनले भने ।