२७ मंसीर काठमान्डौ । राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं नयाँ दिल्लीको मेदान्त अस्पताल पुगेका छन् । उनले घाँटीको क्यान्सरको फलोअपको निम्ति त्यता गएको जानकारी दिएका छन् ।प्रसाईंको नेतृत्वमा राजतन्त्र पुनस्थापना र हिन्दु अधिराज्यको निम्ति मंसिर ७ गतेदेखि राजधानी केन्द्रित आन्दोलन भएको थियो । विशेषगरी मध्य तराईका जिल्लाबाट लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिएर तिर्न नसकेका महिला तथा गरिब परिवारका सदस्यलाई ऋण मिनाहाको आश्वासनमा राजधानी ल्याइएको थियो ।प्रसाईंले आठ वर्षअघि घाँटीको क्यान्सर हुँदा मेदान्तका डा। दिपक सरिनले उपचार तथा अपरेशन गरेको जनाउँदै नियमित फलोअपको लागि त्यहाँ पुगेको सामाजिक सञ्जालमा लेखेका छन् । मेदान्त अस्पतालको मेचमा बसेको फोटो हाल्दै लेखेका छन ‘आज आएको छु, भोलि नेपाल फर्किने छु । साथै मेरो घाँटीको उपचार आफ्नै हस्पिटल पूर्वान्चल क्यान्सर हस्पिटल बिर्तामोडमा केही दिन अगाडि भएको थियो । मेरो अवस्था बारे जानकारी लिने सम्पूर्णमा धन्यवाद अहिले मेरो स्वास्थ्य अवस्था सामान्य रहेको सम्पूर्ण शुभचिन्तकमा अवगत गराउन चाहन्छु ।’एक हप्तामा आन्दोलन तुहिएपछि उनी झापा गएका थिए । अहिले घाँटीको क्यान्सर फलोअपमा नयाँ पुगेका हुन् । उनको संस्थाले आगामी फागुन १ गतेदेखि सशक्त आन्दोलन गर्ने जनाएको छ ।