२६ मंसीर काठमान्डौ । हाल जेलमा रहेका एक जनाको मुद्दा मिलाइदिने र उनलाई थुनामुक्त गराइदिने प्रलोभनमा झण्डै एक करोड ठगी गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको नागार्जुन नगरपालिका–१, रानीवन बस्दै आएका भोजपुरका २६ वर्षीय रितु राई र बर्दियाका २१ वर्षीय निरेश चौधरीले झण्डै एक करोडको डिल गरेको बताइएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । राई र चौधरीले अपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेतका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिने आश्वासन दिएका थिए ।सोही आश्वासनमा उनको परिवारबाट पटकपटक गरेर ९९ लाख ९५ हजार रुपैयाँ ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुवैजनाविरुद्ध अपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको बताइएको छ ।थुनामा रहेका आफन्तलाई छुटाउन मोटो रकम दिएको भनिएका परिवारका सदस्यमाथि पनि अनुसन्धान र छानबिन भइरहेको ब्यूरोले जनाएको छ ।