१९ असोज बाँके । दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी मामा र भान्जाको निधन भएपछि बाँकेको एलगाउँ शोकमा डुबेको छ।
नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटना हुँदा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगर पालिका–७ का २२ वर्षीय कृष कनौजियाको निधन भएको थियो ।सुरेश र एकेन्द्र सहोदर मामा र भान्जा हुन् ।खजुरा–२ एलगाउँकै स्थायी बासिन्दा रहनुभएका एकेन्द्र हाल कोहलपुरमा बसोबास गर्दै आएको स्थानीय भीम ओलीले बताए।दसैँको पूर्वसन्ध्यामा सडक दुर्घटनामा चार जनाको निधनले सिङ्गो गाउँनै शोकमा डुबेको ओलीले बताए।
सोच्दै नसोचेको, कल्पनासमेत नगरेको यो दुःखद् खबरले हामी स्तब्ध भएका छौं,ओलीले भने, सवारी दुर्घटनामा मामा एकेन्द्रराज रेग्मी र भाइ सुरेश विसीको यो असामयिक निधनले पूरै परिवार, सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।मामा र भान्जा नै बस चालक भए पनि शनिबार भने भान्जालाई साथ दिन एकिन्द्र पनि सँगै बसमा गएको ओलीले जानकारी दिए।मृतक दुवै जनाको स्थानीय मानखोला घाटमा दाहसंस्कार गरिएको छ ।शुक्रबार काठमाडौँबाट बर्दियातर्फ आउँदै गरेको कपिलवस्तुमा दुर्घटना हुँदा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको थियो।दाउन्ने बस दुर्घटनामा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया र कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसीको परिवार र आफन्तजन पनि शोकमग्न छन्।