३ आश्विन काठमान्डौ । दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९ जना शरणार्थीलाई आश्रय दिइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय यूएनएचसीआर ले जनाएको छ।

कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दक्षिण सुडानमा रहेका शरणार्थीमध्ये ६ लाख ५७ हजार ४७९ जना दर्ता भएका शरणार्थी र चार हजार ५० जना शरण खोज्ने व्यक्ति छन्।कुल शरणार्थीमध्ये अधिकांश सुडानी नागरिक छन्। उनीहरूले दक्षिण सुडानमा रहेको कुल शरणार्थी जनसङ्ख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन्। त्यसपछि प्रजातान्त्रिक गणतन्त्र कङ्गो डीआर कङ्गो का नागरिक २ प्रतिशत छन्। बाँकीमा इथियोपिया, इरिट्रिया, मध्य अफ्रिकी गणतन्त्रलगायत विभिन्न देशका नागरिक रहेका छन्।सुडानमा जारी द्वन्द्वका कारण देश छाडेर दक्षिण सुडान प्रवेश गर्ने व्यक्तिलाई दक्षिण सुडान सरकारले प्रथम दृष्टिमा शरणार्थीको हैसियत प्रदान गर्दै आएको यूएनएचसीआरले जनाएको छ।