२३ भदौ काठमान्डौ । जेनजी प्रदर्शन र मुलुकभर विध्वंश मच्चाइएको आज एक वर्ष पुगेको छ। यस अवधिमा मैले देखेको र बुझेको कुरा प्रस्तुत गर्न चाहन्छु ।जेनजी प्रदर्शन र विध्वंशको एक वर्ष पूरा भयो,तर सहिदका सपना पूरा भएनन् । सरकार फेरियो,युवाको अवस्था फेरिएन । रोजगारीको ग्यारेन्टी भएन,युवाहरू स्वदेशमै बस्ने वातावरण बनेन ।हामीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध देशैभर आन्दोलन गरेका थियौँ। उक्त आन्दोलनले सत्तारूढ दलका नेताहरूलाई भाग्न बाध्य बनायो । तत्कालीन नेताहरु कुटिएका,भागेका कारण झन्डै ७२ घण्टासम्म मुलुक अभिभावकविहीन बन्यो ।त्यसबीच जङ्गी अड्डामा कहिले देशमा राजा ल्याउने बहस चल्यो, कहिले यही व्यवस्थालाई अगाडि बढाउने बहस भयो ।

अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा छ महिनाभित्र चुनाव गराउने लक्ष्यसहित अन्तरिम सरकार बनाइयो ।तत्कालीन कार्की सरकारले गराएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले झण्डै दुईतिहाइ बहुमत ल्याएको छ । त्यसैको जगमा बालेन्द्र शाह ‘बालेन’ देशको प्रधानमन्त्री बनेका हुन् ।अहिलेको अवस्था हेर्दा भन्नैपर्छ,हामीले प्रधानमन्त्री फेर्नका लागि आन्दोलन गरेका थिएनौँ । देशको अवस्था बदल्न, युवाहरूलाई देशमै बस्ने वातावरण सिर्जना गर्न, शिक्षा र स्वास्थ्य निःशुल्क गर्न तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न आन्दोलन गरेका थियौँ ।अझै पनि आशा छ, सरकारले हाम्रा एजेण्डाप्रति गम्भीर भएर देशमा उद्योगधन्दा तथा कलकारखाना खोल्नेछ, विदेशिएका युवाहरूलाई स्वदेश फर्काउने वातावरण बनाउनेछ, भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेछ र सहिदका सपना पूरा गर्नेछ। साभार जन आस्था बाट