९ असोज काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद नभई सांसदकै क्षमता कमजोर भएको बताएका छन ।
नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसील चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन, मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ।
केसी भन्छन्, “जनतासमक्ष के भन्ने र कसरी मुख देखाउन जाने, एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै बस्ने भन्ने अवस्था छ । यसमा संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ।” विसं २०१४ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गरी विसं २०२१ मा बागलुङमा संगठन बनाएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका केसी विसं २०३१ मा नेकपाको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। विसं २०२८ मा राजनीतिक प्रशिक्षणका क्रममा गिरफ्तारीमा परी नौ महिना कारागार जीवन बिताएका उनी लामो समय शिक्षण पेसामा संलग्न भए।