१५ असार काठमाडौं। राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन आज साहित्यिक पत्रकार सङ्घले एक विशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ।साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकालीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति सांसद राजेन्द्र लिङ्देन रहेका थिए।
सभाका सभापति राधेश्याम लेकालीले सांसद राजेन्द्र लिङ्देल ३० कै दशकको कवि भएको उल्लेख गर्दै सत्तामा बस्नेहरू सबै कवि भइदिए कति राम्रो हुने थियो भनेर बताए।हाम्रो देश कृषिप्रधान देश भएको प्रसङ्गमा लेकालीले पहिले हाम्रो देशले कोरियामा समेत खाद्यान्न निर्यात गर्ने गरेकोमा हाल आयात गर्नुपर्ने स्थितिमा पुगेको दुस्खेसो व्यक्त गरेका थिए। लेकालीले असार १५ गते शीर्षकको एउटा कविता पनि वाचन गरेका थिए।
आजै परेको जन्मदिनका लागि चर्चित कलाकार मदनदाश श्रेष्ठलाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिइएको थियो।कार्यक्रममा स्थानीय समाजसेवी प्रकाश रिमालले स्वागत मन्तव्य राखेका थिए भने अर्का समाजसेवी तथा कृषक नवीन शाहीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सहजीकरण गीतकार तथा समाजसेवी शोभित उप्रेतीले गरेका थिए।शुभकामना आदानप्रदान कार्यक्रमपछि सहभागीहरूलाई दही चिउरा, तरकारी, फलफूल आदि विभिन्न परिकार खुवाइएको थियो । खानपिन चलिरहँदा सभाकक्षमा साङ्गीतिक कार्यक्रम पनि भइरहेको थियो।
सोही कार्यक्रममा चर्चित सङ्गीतकार एवं गायक शान्तबहादुर शाक्यलगायत आधा दर्जनले आआफ्नो साङ्गीतिक प्रस्तुति दिनु भएका थिए। कार्यक्रममा गायक शान्तबहादुर शाक्यलाई पनि जन्मदिनको शुभकामना दिइएको थियो ।