गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

804Shares
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

१९ जेठ,काठमाडौं । सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ ।आज बसेको संसदीय दलको बैठकले प्रश्न उठेपछि छानविनलाई सघाउन मार्गप्रश्स्त गर्नुपर्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले बताए ।

उनले भने, ‘भोलि(मंगलबार)को संसदको अवरोध यथावत रहन्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन । आम मिडिया र जनसमूदायले भनिरहेको छ । भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ । को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ । छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आफ्नो पार्टीले राखेको जानकारी दिए ।

साथै माओवादी बैठकले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।  त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकालेको छ ।