हल्का तथा मध्यमगरी सातवटै प्रदेशमा वर्षा

891Shares
हल्का तथा मध्यमगरी सातवटै प्रदेशमा वर्षा

७ जेठ, काठमाडौं ।देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।हल्का तथा मध्यमगरी सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । बिहान केही कम भए पनि एकाध स्थानमा वर्षा भइरहेको छ।

दिउँसो केही समय मौसम खुले पनि २र३ बजेपछि पुनः बदली भएर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

यसैगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभरका धेरै स्थानमा बादल बनेर वर्षाको सम्भावना रहेको मौसमविद् अर्याल बताउँछन् । बाहिरबाट आएको प्रणाली र स्थानीय प्रणाली मर्ज हुँदा पानी पार्ने सिस्टम विकास हुँदा देशभरका धेरै स्थानमा वर्षा भएको उनको भनाइ छ ।