१ जेठ, काठमाडौं । मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ ।भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बनमा परेको हाे । अब उनीसहित १५ नेपाली, एक विदेशी र दुई कम्पनीविरुद्ध टेरामक्स खरिद प्रकरणमा तीन अर्ब बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सञ्चारमन्त्री हुँदा बस्नेतले मन्त्रिपरिषद्ले मात्र पाउने अधिकारभन्दा वाहिर गई टेरामक्स कार्यान्वयनको निर्देशन दिएको। सोहीअनुसार दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले कानूनविपरीत काम गरेको उनीमाथि अभियोग छ।उनी विरुद्ध अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो माग दाबी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।
बस्नेत निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भएपछि सभामुखले सदनलाई जानकारी गराउने छन् । तर, पत्र आइनसकेको साथै समय पनि घर्किसकेकाले भोलिको बैठकमा जानकारी हुने संसद सचिवालय स्रोतले बतायो ।