किन दर्ता भयो वडाध्यक्ष सहित चार जना विरुद्ध अख्तियारमा मुद्धा

किन दर्ता भयो वडाध्यक्ष सहित चार जना विरुद्ध अख्तियारमा मुद्धा

२६ साउन बाँके । बाँकेमा वडाध्यक्ष सहित ४ जना विरुद्ध भ्रष्टाचार सम्बन्धि मुद्धा दर्ता भएको छ । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशल कुमार धोवीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।अख्तियारका अनुसार वडाध्यक्ष धोवी र वडा सचिव वीरबहादुर थापा मगरले अन्य प्रतिवादी विकास कुमार चापागाईं र रविन्द्र लामिछानेसँग मिलेमतो गरी सरकारी कागजात सच्याउने, झुट्टा तथा नक्कली करारनामा तयार गर्ने र सरकारी छापको दुरुपयोग गर्ने कार्य गरेको अनुसन्धानबाट पुष्टि भएको हो।

अनुसन्धानका क्रममा २०७९/०४/१० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईंबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नं। ९९८, क्षेत्रफल १६४.१४ वर्गमिटर जग्गा खरिदका लागि ७० लाख रुपैयाँ लेनदेन भएको देखाउने गरी झुट्टा तथा नक्कली करारनामा तयार गरिएको अख्तियारले जनाएको छ।उक्त करारनामालाई प्रमाणित गर्न वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबलाई २०८३ सालमा सच्याई थपघट गरिएको र सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगको दाबी छ।त्यस्तै, वडाध्यक्ष धोवी र वडा सचिव थापाले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी २०८३/०३/२९ गतेको चलानी नम्बर ७२४० को विवरणसमेत फेरबदल गरेर चलानी नम्बर ७२४२ बाट झुट्टा विवरणसहितको गलत लिखत तयार गरी अख्तियारको अभिलेखमा रहने गरी पत्राचार गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।