२६ साउन जनकपुर । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा राजेन्द्र विमलको निधन भएको छ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्यमा लामो समयदेखि सक्रिय विमलको ७९ वर्षको उमेरमा सोमबार राति निधन भएको हो।उनका कान्छा छोरा डा.विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला विमल अचानक बिरामी परेका थिए।उनलाई तत्काल नजिकैको अस्पताल लगिए पनि उपचारकै क्रममा राति पौने १ बजे निधन भएको हो। विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एक बहुआयामिक स्रष्टा गुमाएको साहित्य क्षेत्रका व्यक्तिहरूले बताएका छन्।
डा. विमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए। भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए।साहित्य सिर्जनासँगै अध्यापन र भाषा अनुसन्धानमा समेत उनको महत्वपूर्ण योगदान थियो। उनी विसं २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा जोडिएका थिए।