कृषि उत्पादन बढाएर आत्मनिर्भर हुने र सिँचाइ प्रवर्द्धनका कार्यक्रम अघि बढाउने कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मन्त्रालयमा आयोजित एक कार्यक्रममा बताए ।
बाँझो जमिनमा सिँचाइ उपलब्ध गराएर चैते धान हाल एक लाख १८ हजार हेक्टरमा लगाइएकामा त्यसलाई दोब्बर पुर्याई धानमा आत्मनिर्भरका लागि भगिरथ प्रयत्न गर्ने मन्त्रालयले सङ्कल्प लिएको छ । मुलुक धानमा आत्मनिर्भर नभएका कारण वार्षिकरूपमा रु ३० अर्बभन्दा बढीको चामल आयत गर्दै आएको छ ।
आधुनिक प्रविधिको प्रयोग र व्यावसायिकीकरणका माध्यमद्वारा धानको उत्पादन वृद्धि गर्न पर्याप्त मलखाद्य र सिँचाइका साथै अनुसन्धान र विकासका कार्यक्रमलाई पनि जोड दिइने नीति अघि सारिएको छ । नेपालमा वार्षिक सदरदर धान उत्पादन ५४ लाख ८६ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
सरकारले कृषि पशुपक्षी विकास उद्यमशीलता कार्यक्रम तथा हरित विद्यालय र पोषण शिक्षा कार्यक्रमलाई पनि अघि बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले इलाम, सुनसरी, रौतहट, सर्लाही, काभ्रे, नुवाकोट, तनहुँ, पर्वत, अर्घाखाँची, कपिलवस्तु, दैलेख, कालीकोट, कैलाली र बैतडी जिल्लाका एक सय ६१ पालिकामा पशु स्वास्थ्य आधारभूत प्रयोगशाला स्थापना कार्यक्रम यस वर्ष ल्याइएका नयाँ कार्यक्रम हुन् ।
कृषिलाई दिने अनुदानलाई उत्पादनमा आधारित बनाउन ‘उत्पादन साथमा नगद हातमा’ भन्ने नीति अवलम्बन गरिएको छ । विश्व बैंकको सहयोगमा ४० पालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्र निर्माणकार्य सुरु गरिएको जानकारी दिइयो ।
दूध होलिडे मनाउन नदिन धुलो दूधकोे आयात गर्न नदिइएको तथा उखु कृषकलाई उत्पादनका आधारमा अनुदान दिने प्रक्रिया सुरु गरिएको जानकारी दिइयो । विगतमा विभिन्न कारण स्थगन भएको बाली तथा पशु बीमा सुरु भएको मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।