प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले भ्रष्टाचारविरूद्धको अभियान चलाएको बताएका छन्।
बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको छ। सरकारले दायाँबायाँ हेर्दैन। सरकार र मोर्चा एकढिक्का भएर यसैमा केन्द्रित छ।’
‘सामाजिक न्याय, सुशासनका पक्षमा यो मोर्चा एक भएर लड्दा हामी सफल हुनेछौं,’ उनले भने, ‘सरकार कति दिन टिक्छ कि टिक्दैन मलाई टेन्सन छैन।’
केही मानिसले प्रचण्डले आफ्ना कार्यकर्तालाई बचाउँछ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै भने, ‘मैले सिआइबीलाई भनेको छु, गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुहोस् भनेको छु।’
सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको उनको भनाइ थियो। उनले आफू युएन महासभा र चीन भ्रमणमा जाँदा किसानका मुद्दा उठाउने प्रतिबद्धता पनि जनाएका छन्।