निर्माण व्यवसायी महासंघले गर्‍यो आन्दोलनको घोषणा

114Shares
निर्माण व्यवसायी महासंघले गर्‍यो आन्दोलनको घोषणा

२ माघ काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएको भन्दै  आन्दोलनको घोषणा गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले माघ ३ गतेदेखी २१ गतेसम्म आन्दोलन गर्ने घोषणा गरेको हो । आफ्ना मागबारे यही माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री, सम्बन्धित मन्त्री, प्रदेशका मुख्यमन्त्रीलगायत निकायमा ज्ञापनपत्र बुझाइने महासंघले जनाएको छ ।

आफ्ना मागका बारेमा माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री,सम्बन्धीत मन्त्री, प्रदेश मुख्यमन्त्रीलगाएतलाई ज्ञापनपत्र बुझाइने महासंघले जनाएको छ । माघ १५ गतेसम्म आफ्ना माग सम्बोधन नभए माघ १८ गते माइतिघरमा धर्ना दिने,२० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने महासंघले जनाएको छ ।

गत पुस २७ गते राजधानीमा निर्माण उद्योगका विद्यमान समस्याहरूका बारेमा देशभरका निर्माण व्यवसायीहरूको उपस्थितिमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले आन्दोलनका चरणबद्ध कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो । बिनाकारण सिमेण्ट साथै डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धि, भुक्तानीको समस्या, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता, निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विगतका सहमति कार्यान्वयन लगायतका विषयमा महासंघले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।