२४ पुष काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ ।
बुधबार त्रिपुरेश्वर स्थित खेलकुद परिषद्को सभाहलमा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आगामि चैत्र २३ गते देखि ३० गतेसम्म सञ्चालन हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन गरिएको हो ।
राखेप भवन त्रिपुरेश्वरमा स्थापना गरिएको सचिवालयको बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ यहि चैत्र २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदैछ ।
राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । सचिवालयको उद्घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १० औँ राष्ट्रिय खेलकुदका बिषयमा विस्तृत छलफल हुने जानकारी गराए ।
उहाले राष्ट्रिय खेलकुदलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्य रुपमा सम्पन्न गर्ने जिकिर गर्नुभयो । मन्त्री चौधरीले २७ वटा संघमध्ये कतिपय संघहरु सक्रिय नरहेको अवस्थामा संघलाई कारवाही गरेको र त्यसकै कारण प्रशिक्षक र खेलाडीहरुलाई कुनै असर नपर्ने बताए।
सहभागीको संख्यालाई हेरेर ढोका बन्द नगर्ने भन्दै उनले यसका निम्ति बजेटको व्यवस्था पनि गरेको जानकारी गराए। उनले भने, ‘विगतको नवौं राष्ट्रिय खेलकुदको सहभागीताको सङ्ख्या हेर्ने हो भने जम्मा दुई सय १५ जनाको सहभागीता थियो। तर अहिले चाँही सात सय भन्दा माथिको सहभागीता गराउने टिम पनि छ। दुई सय र सात सयबीचको प्रतिस्पर्धाले के हुन सक्छ भन्ने पनि छ । तर यसमा हामीले ढोका बन्द गरेको छैनौं। यसका निम्ति पनि बजेटको व्यवस्था गरेका छौं ।’