काठमाडौं । बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको निर्णय गरेको जानकारी दिएको हो ।पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको हो ।
भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन भइसकेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको उनले जानकारी दिए ।
उनले भने,‘प्राकृतिक एब सास्कृतिक सम्पदाहरुको संरक्षण एवं विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुयाउने उद्देश्यसहित भ्रमण वर्ष आयोजना गरिएको हो ।’सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षभर पर्यटन प्रवद्र्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिइएको छ । उनले भने,‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन बर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपूर पुयाउने हाम्रो लक्ष्य छ ।’