१ पुष काठमाडौं | सप्तरीको राजविराज विमानस्थलबाट अब रात्रीकालिन उडान हुने भएको छ । अहिले बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै अब बुद्ध एयरले नै रात्रीकालिन उडान समेत गर्ने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि सोमबार(आज)देखिराजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु गर्न लागेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए ।
राजविराज विमानस्थलबाट पूर्वतर्फ एक सय किलोमिटरमा विराटनगर विमानस्थल रहेको छ भने पश्चिममा पनि एक सय किलोमिटरमा जनकपुर विमानस्थल रहेको छ । सय किलोमिटरको फरकमा विमानस्थल रहेका कारण यस क्षेत्र वरिपरिका यात्रुको रोजाइमा राजविराज विमानस्थलको हवाई सेवा पर्ने गरेको छ ।
सोमबारको कार्यक्रमका लागि संघीय सरकारका पर्यटनमन्त्री बद्री पाण्डे साँझसम्म राजविराज पुगिसक्ने मन्त्रीका स्वकीय सचिव ताल बहादुर राउतले बताए । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह राजविराज विमानस्थल जाने बताइएको छ । राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ ।