रास्ट्रिय स्वतन्त्र पार्टीको ७७ जिल्लामै संगठन पुग्दै

762Shares
रास्ट्रिय स्वतन्त्र पार्टीको ७७ जिल्लामै संगठन पुग्दै

जेष्ठ ९ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार गरी ७४ जिल्लामै पुर्‍याएको छ । डोल्पा, हुम्ला र पश्चिम रुकुम गरी तीन जिल्लामा संगठन विस्तार हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।पार्टी संरचनालाई छिटो–छरितो बनाउने उद्देश्यले सानो आकारको समिति बनाउने गरिएको रास्वपाको दाबी छ । तीन तहको सरकार संरचनासँग मिल्ने गरी पालिका, प्रदेश र केन्द्र गरी मूल रूपमा तीनवटा पार्टी संरचना हुने रास्वपाले जनाएको छ ।

वडा र पालिकामा ११/११, संघीय निर्वाचन क्षेत्रमा ५, जिल्लामा २, प्रदेशमा ५०, केन्द्रमा १२१ जना सदस्य रहेको समिति हुने व्यवस्था छ । केन्द्रीय सदस्यमा हाल ३९ जना छन् । संघीय निर्वाचन क्षेत्र अनुसारको समिति बन्ने क्रममा छ । जिल्लामा संयोजक र सहसंयोजक मात्रै रहेको पार्टी संरचना बनाएको छ ।

सबै तहका संरचनामा युवा ५१ र महिला ३३ प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । संगठनको संरचना बनाउँदा सकेसम्म सर्वसम्मतको विधि अपनाइएको छ । ‘आकांक्षीहरू बीचमा सर्वसम्मत हुन सकेन भने निर्वाचनबाट नेतृत्व चयन गर्छौं’, संगठन बिभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले भने ।

‘मिसन–२०८४’ लाई ध्यानमा राखेर सदस्यता विस्तार, संगठन निर्माण र प्रशिक्षणलाई रास्वपाले महत्व दिएको उक्त दलका नेताहरू बताउँछन् ।