२०८१ श्रावण १० गते काठमाडौं । । दुई छिमेकी मुलुक भारत र चीनका लागि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिचको सहमतिअनुसार दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले चीन र भारत दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको नेकपा एमाले नेता राजेन्द्र गौतमले बताए । हाल भारतमा शंकर शर्मा र चीनमा विष्णुपुकार श्रेष्ठ राजदूत रहेका छन् ।
पछिल्लो सहमतिअनुसार चीनमा माओवादी कोटाबाट राजदूत बनेका श्रेष्ठलाई फिर्ता बोलाएर एमालेबाट सिफारिस गर्ने तयारी रहेको छ भने कांग्रेसको भागमा भारतको राजदूत परेकाले शर्मालाई नै निरन्तरता दिनसक्ने बुझिएको छ । एमालेले चीनमा कसलाई राजदूत सिफारिस गर्दैछ भन्ने खुलासा भएको छैन ।