रुसी सेनामा भर्ती नेपालीहरूको उद्धारमा निरन्तर पहल भइरहेको छ: परराष्ट्रमन्त्री

24Shares
रुसी सेनामा भर्ती नेपालीहरूको उद्धारमा निरन्तर पहल भइरहेको छ:  परराष्ट्रमन्त्री

२०८१ श्रावण ९  गते  काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताएकी छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको र युक्रेनमा ६ जना बन्दी रहेको जानकारी दिनुभयो । उहाले रुसी सेनामा रहेका अन्य नेपालीलाई छिटो स्वदेश फर्काउनका लागि कुटनीतिक पहल भइरहेको बताउनुभयो ।

युक्रेन–रुसमा क्रममा बन्दी बनाइएका मध्ये एक जनालाई एक्सचेन्ज लिष्टमा राखिसकेको उहाले जानकारी दिनुभयो । मन्त्री राणाले बेपत्ता भएका विपिन जोशीको सम्बन्धमा उद्दारका लागि नेपाल सरकारले निरन्तर कुटनीतिक पहल गरिरहेको बताउनुभयो ।उनका अनुसार रुस–युक्रेन युद्ध भएदेखि हालसम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको संख्या ३४ पुगेको छ भने २२ जनाको डीएनए परीक्षणका लागि दिइएको छ । हालसम्म युक्रेनमा युद्धबन्दी ६ जना रहेका छन् ।

यस्तै, घाइते भई उपचाररत रहेका व्यक्तिको संख्या ५ जना छ भने त्यसमध्ये एक जना फर्कि सकेको छ । मस्कोस्थित नेपाली दूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्केकाको संख्या १५० छ ।
हालसम्म उद्धारका लागि निवेदन परेको ३२३ जना छन् भने सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको संख्या ११६ रहेको छ । त्यस्तै परराष्ट्रमन्त्री राणाले बीआरआइ परियोजनाको कार्यान्वयनका बिषयमा छलफल हुन बाँकी रहेको जानकारी दिदै देशको हितमा मोडालिटी तय गर्दै आवश्यक निर्णय लिइने धारणा राख्नुभयो ।