काठमाडौं – धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरु बीचको विवाद मिलेको छ । मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति क्षमायाचना सहित आत्माआलोचना गरेपछि दुई महिनापछि विवाद मिलेको छ ।
मेयर साम्पाङका स्वकीय सचिवले २९ फागुनमा उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुसँग कामको प्रगति विवरण पठाउन निर्देशन पत्र पठाएपछि विवाद सुरू भएको थियो ।
उपमेयर अइन्द्रविक्रम बेघाले आइतबारको बैठकसँगै लामो समयदेखिको विवाद मिलेको जानकारी दिए । परिपक्व र जिम्मेवारी सहित अगाडि बढ्ने सहमति भएको उनले बताए । विगतका तिता मिठा कुराबाट सिकेर नमिठा कुराहरुलाई त्यागेर अगाडि बढ्ने विषयमा कार्यपालिका सदस्यहरुबीच सहमति भएको उनले बताए । विवादका कारण धरानका सबै जनप्रतिनिधिले गाली खाएको स्मरण गर्दै उनले भने, ‘धरानको जनदबाब र सबैको इच्छाले विवाद मिल्न सफल भएको छ ।’ सबैलाइ मिलाउन सक्ने क्षमता भएका उपमेयर बेघाले सवै राजनितिक दल , युवा , निर्वाचित प्रतिनिधिका बिच मध्यस्थता गरेको कारण विवाद मिल्न सम्भव भएको एक वडा अध्यक्षले बताएका हुन ।
‘आज सबैले जितेको हो, धरान श्रमको शहर, एकताको शहरको रुपमा अगाडि बढ्छ । सबै मिलेर धरानलाई देशकै नमुना सिटी बनाउनेगरी काम गर्ने छौं’ बैठकमा बेघाले भने ।