बंगलादेश हिंसा : ‘स्थिति असहज छ , १७ जना आज फर्कँदै

30Shares
बंगलादेश हिंसा :  ‘स्थिति असहज छ , १७ जना आज फर्कँदै

२०८१ श्रावण ६  गते  काठमाडौं बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन् । आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन् । बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरेको हो ।

स्वदेश फर्र्किएका डेल्टा मेडिकल कलेजका विद्यार्थी दिलिपा सापकोटाले बंगलादेशमा कफ्र्युका बाबजुद एम्वुलेन्सबाट विमानस्थल पुगेर नेपाल फर्किएको बताउनुभयो । उहाले बंगलादेशको अवस्था हिंसात्मक रहेकाले नेपालीहरुलाई सुरक्षित राख्नुपर्ने र नेपाली दूतावासलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बंगालादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यसअघि नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि सम्पर्क गर्न भनेको थियो । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म १ सय १५ जनाको मृत्यु भइसकेको छ ।