राष्ट्रपतिले दिए पेरिस ओलम्पिकमा जाने खेलाडीलाई शुभकामना

33Shares
राष्ट्रपतिले दिए पेरिस ओलम्पिकमा जाने खेलाडीलाई शुभकामना

२०८१ श्रावण ४ गते  काठमाडौं । । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई शुभकामनासहित विदाइ गरेका हुन्  ।

पेरिस ओलम्पिक खेल्ने ७ मध्य टेबलटेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा देश बाहिर हुँदा विदाई कार्यक्रममा सहभागी थिएनन् । एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ब्याडमिन्टनका प्रिन्स दाहाल बिदाइ कार्यक्रममा सहभागी थिए ।

राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उनले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिए ।

खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीसहित नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।