आज विश्व युवा दक्षता दिवस मनाइँदै

21Shares
आज विश्व युवा दक्षता दिवस मनाइँदै

२०८१ असार  ३१  गते   काठमाडौं । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो ।

वयस्कहरुभन्दा युवाहरु बेरोजगार रहने सम्भावना तीन गुणाले बढी रहेको तथ्याकंहरुले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरुले रोजगार पाइहाले पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरु बेरोजगार रहने सम्भावना झनै बढी छ । पाएको रोजगारबाट उनीहरुले धेरै नै कम तलब पाउछन् र अस्थायी काममै चित्त बुझाउने गर्दछन् । मिहिनेतको पैसा थाप्ने रहर हरेक मानिसको हुन्छ । युवायुवतीहरु छातीमा जोश र पाखुरामा बल हुँदाहुँदै पनि रोजगारका लागि आवश्यक दक्षताको अभावले युवा जोशको दम्भलाई कामको भारीले थिचेर पाएको धेरथोर पैसा चुप लागेर लिन बाध्य छन् ।

नेपालको जनगणना २०७८ को तथ्याङक अनुसार नेपालमा १६ देखि ४० बर्ष उमेर समूहका युवाको जनसंख्या ४२.५६ प्रतिशत रहेको छ । नेपालको जनसंख्याको झण्डै आधाको हाराहारीमा रहेका युवाजनशक्ति राज्यको वेवास्ताकै कारण पिल्सिरहेका छन् ।