२८ गते काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान साढे तीन बजे गएको पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खसेको छ ।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारीअनुसार पहिरोमा परेर बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान गरिएको छ ।सोही दुर्घटनामा तीनजना यात्रु हाम फालेर बाँचेको चितवन प्रहरीले जनाएको छ । एउटा बसको केही भागमात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । उनका अनुसार दुईवटा बस बगेको भनिए पनि अर्को बसको केही पत्तो लागेको छैन ।दुवै बसमा जम्मा ६५ यात्रु रहेको बताइएको छ । त्यसमध्ये तीनजना हाम फालेर बाँचेका छन् भने बाँकी ६२ यात्रुको अवस्था अज्ञात रहेको छ ।