२२ असार जुम्ला । मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए। उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन् ।