राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएनः मन्त्री जोशी

45Shares
राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएनः मन्त्री जोशी

२०८१ असार १९ गते  काठमाण्डौ | – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा ऐन समयमा नै आउन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले मुलुक संघीयतामा गएको लामो समय हुदा पनि आवश्यक ऐन समयमा नै ल्याउन नसक्दा संघ र प्रदेशको कर्मचारी व्यवस्थापन गर्न कठिन भएको बताउनुभएको हो ।

स्थानीय तहमा प्रमुख प्रशासनकीय अधिकृत पठाउदा आफुले निकै दबाब महशुस गरेको उनको भनाइ छ । उनले निश्चित मापदण्ड नहुँदा स्थानीय तहमा खटाएका कर्मचारी कार्यस्थलमा जान नखोज्ने र गएका कर्मचारीहरुलाई पनि हाजिर गर्न नदिने प्रवृतिहरु देखापरेको धारणा राखे ।

उनले प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा सरकारबाट कर्मचारी व्यवस्था गरिँदै आएको जानकारी दिए ।