इरानमा बम बिस्फोट, सय जनाभन्दा बढीको मृत्यु

36Shares
इरानमा बम बिस्फोट, सय जनाभन्दा बढीको मृत्यु

१९ पुस काठमान्डौ । इरानमा बम बिस्फोट हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ।इरानी सैनिकका पूर्व कमाण्डर कासिम सुलेमानीको समाधिस्थल नजिकै बम बिस्फोट हुँदा १०३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।चार वर्षअघि हिजोकै दिन अमेरिकी हवाई आक्रमणमा सुलेमानी मारिएका थिए। बुधबार सुलेमानीको सम्झनामा इरानको केरमानस्थित उनको समाधिस्थलमा एक समारोह राखिएको थियो।उक्त समारोह भइरहँदा स्थानीय समयअनुसार दिउँसो ३ बजे बिस्फोट भएको इरानका आन्तरिक मन्त्री अहमद अहिदीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।समारोहस्थलबाट करिब ७०० मिटर पर पहिलो बिस्फोट भएको थियो। इरानको समाचार संस्था आइआरआइएनएनका अनुसार कारभित्र सुटकेशमा राखिएको बम बिस्फोट भएको थियो।

बिस्फोटमा परी घाइतेहरूको उद्धार चलिरहँदा २० मिनेटपछि पुनः अर्को बिस्फोट भएको समाचार संस्था रोयटर्सले जनाएको छ।बिस्फोटमा १८८ जनाभन्दा बढी घाइते भएका छन्।घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन। इरानका राष्ट्रपति इब्राहिम रइसीले यसमा इसराइलको हात रहेको आरोप लगाउँदै यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।