२८ मंसीर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएको छ । एमाले झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रामा रहेको छ । संकल्प यात्राको आज १५औँ दिन हो ।नेकपा एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले धनकुटाको लेगुवामा मादक पदार्थ सेवन गरेका एक युवाले अवरोध गर्न खोज्दा शंकास्पद लागेर प्रहरीले नियन्त्रणमा लिएको बताए ।सार्वजनिक भिडियोमा पनि ओलीमाथि आक्रमण प्रयास भएको स्पष्ट देखिन्छ । कोसी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले आक्रमण प्रयास भएको बताए ।“बिहानैदेखि मदिरा सेवन गरेका एक व्यक्तिले आक्रमण प्रयास गरेका छन्,” उनले भने, “उनलाई प्रहरी नियन्त्रणमा लिएको छ ।”भोजपुर र धनकुटाको सिमानामा पर्ने लेगुवाघाटस्थित अरुण नदी तरेपछि सर्वसाधारणसँगै बसेका एक व्यक्तिले माला दिने क्रममा अध्यक्ष ओलीलाई हात पात गर्न खोज्ने व्यक्ती महेश राई भएको प्रहरीले जनाएको छ ।एमालेका नेता कार्यकर्ता र सर्वसाधारणसँगै लाइनमा बसेका ती व्यक्तिले माला दिने बहानामा उफ्रिएर अध्यक्ष ओलीलाई हातपात गर्न खोजेका थिए । उनी उफ्रने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरीका डीआइजी अञ्जनी पोख्रेललेले पक्राउ परेका राईले मादक पदार्थ खाएको पाइएको बताए ।मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर समृद्धिका लागि संकल्प यात्राको उद्घाटन गरिएको थियो । मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान यतिखेर कोसी प्रदेशमा छ । करिब दुई हजार किलोमिटरको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गर्ने तयारी छ ।पुस ५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियानको समीक्षा प्रस्तुत गर्ने तयारी गरिएको नेताहरू बताउँछन् ।