ठाकुरबाबा नगरपालिकाको बदमासी , माग १ जना भर्ना २ जना !

42Shares
ठाकुरबाबा नगरपालिकाको बदमासी , माग १ जना भर्ना २ जना !

दीपक शर्मा
२० मंसीर बर्दिया  बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगर प्रहरी भर्तिमा बेइमानी गरेको बताइएको छ ।
नगरपालिकाले एक जना नगर प्रहरी हवल्दारको माग गरेर सूचना सार्वजनिक गरेको र भर्ना गर्ने बेलामा २ जनालाई भर्ना गरेको पाइएको हो ।
पालिकाले २०८० श्रावण ९ गते करारमा नगर प्रहरी भर्ना सम्वन्धि सूचना प्रकाशित गरेको थियो जसमा नगर प्रहरी नायव निरिक्षक १ जना, नगर प्रहरी सहायक निरिक्षक १ जना , नगर प्रहरी हवल्दार १ जना र नगर प्रहरी जवान ९ जना गरी १२ जना नगर प्रहरी भर्नाको लागी सूचना निकालेको थियो । खुल्ला प्रतिस्पर्धा बाट लिइने भनिएको भर्नामा बैकल्पिकका रुपमा रहेका व्यक्तिलाई समेत छनौट गरी नगर प्रहरी हवल्दारमा २ जनालाई नियुक्ति गरिएको छ । सूचनामा एक जना माग भएपनि २ जनालाई राखेकोमा नगरपालिका प्रति प्रश्न चिन्ह खडा भएको छ । स्रोतका अनुसार नगर प्रहरी हवल्दारमा बैकल्पिकमा नाम निस्किएका व्यक्तिलाई पालिकाले पहिलै जागीर दिने आश्वासन दिएको थियो । पालिकाले चोर बाटो समाउदै दोस्रो पटकको सूचना लुकाउदै हवल्दार पदमा २ जनालाई भर्ना गरेको हो । यस विषयमा बुझन खोज्दा प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले पहिले प्रकाशित भएको सूचनामा १ जना प्रहरी हवल्दार मागिएको पछि कार्यपालिकाको वैठकबाट थप एक जना माग गरिएकै कारण २ जना भएको बताउनु भयो । यसै गरी ठाकुरबाबा नगरपालिकाका प्रवत्ता रामरानी थारुले सो निर्णय अनुसार नै भएको बताउनु भयो । पालिकाले पहिले नै आश्वासन दिएको मान्छे राख्नका लागी कर्मचारी , जनप्रतिनिधिले चोर बाटो अपनाउदा ठाकुरबाबा नगरपालिकाकाले नगरवासीलाई प्रदान गर्ने सेवा सुविधाका विषयमा समेत खोतल्नुपर्ने बेला आएको स्थानियवासीहरुको भनाई रहेको छ ।