१९ मंसीर काठमान्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जीविरुद्ध आन्दोलन गर्ने भएको छ ।अदालतले महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र उपत्यका ब्युरो इञ्चार्ज माइला लामालगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । सोही पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मसाल जुलुस निकाल्ने कार्यक्रम राखिएको छ । भोलि दिउँसो ३ बजे न्यायाधीशको पुत्ला जलाउने र पर्सि दिउँसो २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरिएको छ ।
महासचिव विप्लवले पक्राउ पुर्जीसम्बन्धमा जारी गरेको वक्तव्यमा अदालतको उक्त पुर्जी २०७७ फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिको ठाडो उल्लंघन भएको बताएका छन् ।नेकपामाथिको प्रतिबन्ध हटाउँदा सरकारसँग भएको सहमतिका तीन बुँदामध्ये एउटामा पार्टीका नेता कार्यकतामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीहरुलार्ई मुक्त गर्ने उल्लेख भएकाले अदालतको पछिल्लो आदेश गैरकानुनी भएको उसको ठहर छ ।