१९ मंसीर काठमाडौं । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसले सिर्जना गरेको अवस्थाका कारण हालसम्म पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।प्रहरीका अनुसार मृत्यु हुने पाँचजनामध्ये दुईजनाको करेन्ट लागेर र एकजनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुईजनाको मृत्युको कारण खुल्न सकेको छैन ।प्रतिकूल अवस्थाको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नईलगायत केही जिल्लामा बिदा दिएको छ । राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् ।मिचाउङ’का कारण आएको भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।