९ मंसीर काठमान्डौ । प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ४८ दिनपछि युद्धविराम भएको छ। शुक्रबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि इसराइलले गजामा युद्धविराम गरेको हो।
इसराइलले गजामा युद्धविराम गरेपछि हमासले शुक्रबार २४ बन्धकलाई मुक्त गरेको छ।द न्युयोर्क टाइम्सका अनुसार हमासले १३ जना इसराइली नागरिक, १० जना थाई नागरिक र फिलिपिन्सका १ नागरिक गरी २४ जनालाई शुक्रबार बन्धक मुक्त गरेको हो।
हमासले बन्धकलाई मुक्त गरेपछि इसराइलले त्यहाँका जेलमा रहेका ३९ जना कैदीबन्दी रिहा गरेको छ।रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी छन्। उनीहरूमध्ये केही इसराइली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए।हमासले बन्धकमुक्त गरेकाहरूलाई रेडक्रसमार्फत् इजिप्ट लगिएको छ। त्यहाँबाट उनीहरूलाई इसराइल लगिने बताइएको छ।आइडिएफका प्रवक्ता ड्यानियल हगारीले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।